काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक यातायात व्यवसायीहरूलाई गाडी नियमित रुपमा सञ्चालन गर्न आग्रह गरेका छन् ।
सरकारसँग भएको सहमतिअनुसार आजदेखि सवारीसाधन सञ्चालनमा आउनुपर्ने भए पनि धेरैजसो गाडी अझै नचलेको भन्दै उहाँले यसलाई अनुचित व्यवहारको संज्ञा दिएका हुन् ।
गण्डकी प्रदेश सरकारले राइड शेयरिङ अन्तर्गत निजी सवारीसाधनलाई यात्रु ओसार्न अनुमति दिएको विषयमा असहमति जनाउँदै व्यवसायीहरूले गाडी नचलाएका थिए। तर, केन्द्र र व्यवसायीबीच भएको पछिल्लो छलफलपछि गण्डकी प्रदेशले उक्त नियमावली स्थगित गर्ने सहमति भइसकेको छ।
यद्यपि, सहमतिपछि पनि गाडीहरू पर्याप्त रुपमा सञ्चालनमा नआएको भन्दै मन्त्री दाहालले व्यवसायीहरूलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । उनले सरकारको तर्फबाट प्रदेशको अधिकारमा हस्तक्षेप हुने कुनै निर्णय नभएको स्पष्ट पार्दै, सवारीसम्बन्धी नयाँ विधेयक अन्तिम तयारीमा रहेको जानकारी दिए ।
उक्त विधेयकमार्फत राइड शेयरिङ सेवाहरूलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेको मन्त्रीको भनाइ छ। सार्वजनिक यातायात ठप्प हुँदा सर्वसाधारण यात्रुले धेरै सास्ती भोग्नुपरेको छ ।


प्रतिक्रिया