म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेसले अल–हिलालको प्रस्ताव अस्वीकार गरे

म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेसले अल–हिलालको प्रस्ताव अस्वीकार गरे



काठमाडौं । इङ्ग्ल्यान्डको फुटबल क्लब म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले साउदी प्रो–लिग अल–हिलालको प्रस्ताव अस्वीकार गरेका छन् ।

फर्नान्डेसले विगत केही दिनदेखि अल–हिलालको सम्झौतालाई गम्भीरतापूर्वक विचार गरिरहेका थिए । उनलाई अल–हिलालले अहिले म्याचेस्टर युनाइटेमा पाइरहेको भन्दा दोब्बर बढी तलबको प्रस्ताव गरेको थियो । फर्नान्डिस सबैभन्दा धेरै कमाउने खेलाडीहरूमध्ये एक हुन् ।

यद्यपि आफ्नो परिवारसँग छलफल गरेपछि ३० वर्षीय मिडफिल्डरले आफू साउदी नआउने अल–हिलाललाई जानकारी दिएका बीबीसीले जनाएको छ ।

यो महिनाको क्लब विश्वकपका लागि ब्रुनो फर्नान्डेसलाई अनुबन्ध गर्न अल–हिलालले ८० मिलियनदेखि १०० मिलियन पाउन्डसम्मको प्रस्ताव गर्न तयार रहेको अपेक्षा गरेको चर्चा भएको थियो ।

सन् २०२० को जनवरीमा स्पोर्टिङबाट ४७ मिलियन पाउन्डमा म्यानचेस्टर युनाइटेड आएदेखि फर्नान्डेसले क्लबका लागि २ सय ९० खेलमा ९८ गोल गरेका छन् ।