काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेदरल्यान्ड्सविरुद्धको खेलको पूर्वसन्ध्यामा दर्शकहरूलाई खेलको समयमा वा पछि पनि मैदानभित्र प्रवेश नगर्न आग्रह गरेको छ।
विश्वकप लिग २ अन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीचको प्रतिस्पर्धा हुँदैछ। त्यसअगाडि क्यानले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै फ्यानहरूलाई संयमित रहन अपील गरेको हो।
क्यानले भनेको छ, “सुरक्षा र अन्तर्राष्ट्रिय खेल नियमको पालना गर्दै, हामी सबै दर्शकहरूलाई मैदानभित्र प्रवेश नगर्न हार्दिक अनुरोध गर्दछौँ।”
केही दिनअघि स्कटल्यान्डविरुद्धको जितपछि उत्साहित नेपाली समर्थकहरू मैदानभित्र पसेको घटना सार्वजनिक भएको थियो। सोही घटनालाई ध्यानमा राख्दै क्यानले यस्तो अनुरोध गरेको हो।
संघले फ्यानहरूको समर्थनको उच्च मूल्याङ्कन गर्दै, यस्तै समर्थन तर मर्यादित ढंगले प्रस्तुत गर्न आह्वान पनि गरेको छ।
प्रतिक्रिया