पुरस्कार नपाएर देश छाड्न बाध्य भए ओमानका खेलाडी

पुरस्कार नपाएर देश छाड्न बाध्य भए ओमानका खेलाडी



काठमाडौं । २०२२ को टी–२० विश्वकपमा ओमानको प्रतिनिधित्व गरेका खेलाडी काश्यप प्रजापति अहिले अमेरिका पुगेका छन् । आईसीसीले ओमान क्रिकेटलाई दिएको २ लाख २५ हजार अमेरिकी डलरको पुरस्कार नपाएपछि उनी देश छोड्न बाध्य भएका हुन् ।

विश्वकपमा तेह्रौं देखि बीसौं स्थानसम्म परेका टिमलाई दिइने यो रकम ओमान क्रिकेटले त पायो, तर खेलाडीहरूलाई भने बञ्चित गर्‍यो । उक्त घटनापछि त्यो टोलीमा रहेका धेरै खेलाडीहरूमाथि अन्याय भयो कतिपयलाई टोलीबाट हटाइयो भने कतिपयले देश नै छाड्नुपर्ने स्थिति आयो ।

खेलाडीहरूलाई रकमबारे जानकारी समेत मिडियामार्फत मात्र भयो । जब उनीहरूले २०२३ को एमर्जिङ एसिया कप अघि यसबारे प्रश्न उठाए, उनीहरूलाई टोलीबाट निकाल्ने चेतावनी दिइयो । केही वरिष्ठ खेलाडीले यस्तो व्यवहारको विरोध गर्दै खेल्न अस्वीकार गरेपछि उनीहरूको भिजा र जागिर रद्द गरियो ।

विश्व क्रिकेटर्स संघ (WCA) का अनुसार यस्तो समस्या अन्य एसोसिएट देशहरूमा पनि देखिन्छ, तर ओमानको अवस्था सबैभन्दा गम्भीर छ। तर अहिलेसम्म ओमान क्रिकेटले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।

आईसीसीसँग यो मुद्दा सुल्झाउने अधिकार नभएपछि, खेलाडीहरूको न्याय खोज्ने बाटो अझै अप्ठ्यारो देखिन्छ ।