बिरामीको चाप बढेपछि बीपी कोइराला क्यान्सर अस्पतालमा फार्मेसी थपियो

बिरामीको चाप बढेपछि बीपी कोइराला क्यान्सर अस्पतालमा फार्मेसी थपियो



चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप भएको छ । यसअघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार अस्पतालको डेकेयरमा नयाँ फार्मेसी शाखा विस्तार गरिएको हो । भर्ना नगरी केमो थेरापी चढाउनुपर्ने बिरामी ‘डेकेयर’मा आउने गर्दछन् ।

डेकेयरमा आउने बिरामीलाई औषधि किन्न असहज भएपछि शाखा विस्तार गरिएको उनले जानकारी दिए । उनका अनुसार ‘ओपिडी’ फर्मेसीबाट बिमामार्फत् र नगदमा औषधि खरिद गर्ने व्यवस्था गरिएको छ भने अन्तरङग भवनभित्र विपन्नसहित नगदमा चौबिसै घण्टा खुल्ला रहने गरी फार्मेसी सञ्चालनमा रहेको छ ।

डेकेयर फर्मेसीबाट विपन्नमार्फत् र नगदमा औषधि खरिद गर्न सकिने छ । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बिरामीलाई औषधि किन्न पालो कुर्नुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न फार्मेसीको नयाँ शाखा सञ्चालन गरिएको बताए ।

छिट्टै शल्यक्रिया कक्ष र सघन उपचार कक्षलाई सहज हुने गरी अर्को फार्मेसी सञ्चालन गर्ने तयारी रहेको उनको भनाइ छ ।