काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारुलाई नेकपा बहुमतले कालाे मसी छ्यापेकाे छ ।
बिहीबार न्यायाधीश थारुको अदालतभित्र इजलासमै पुगेर बहुमतका कार्यकर्ताहरूले थारुलाई कालाे मसी छ्यापेका हुन् । जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका आलमलाई गएको जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो ।
फैसलाको संक्षिप्त पाठअनुसार सफाइ दिन अदालतले आलमलाई महान्यायाधीवक्ताको कार्यालयले यसअघि मुद्दा चलाउन नपर्ने निर्णय गरेको तथा सर्वोच्च अदालतले गरेको परमादेश, विष्फोटमा घाइते भनिएका पिन्टु भनिने त्रिलोक प्रकाश सिंह र ओशी अफताबलाई ट्याक्टरमा हाली राजा इट्टाभट्टामा ल्याइ पोलिएको भन्ने ठोस सबुत प्रमाण वादीले पेस गर्न नसकेको आधार देखाएको थियो ।
कालाे मसी प्रहार गर्ने तीन जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा गर्भु महतो, पदमबहादुर मगर र अविनाश भन्ने किशोर कुमर छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले पक्राउ परेका व्यक्तिहरू दुर्व्यवहार गर्ने उद्देश्यले नै अदालत प्रवेश गरेको बताए ।
प्रतिक्रिया