काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरण र अध्यागमनमा भएका बेथितिहरूको बारेमा गम्भीर अध्ययन तथा छानबिन गर्ने कुरा मुख्य हो, गृहमन्त्रीको राजीनामा मुख्य होइन भन्नेमा प्रतिपक्षी दलहरू पुगेको बताएका छन् ।
बिहीबार साँझ संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच दुई बुँदे सहमति भएको र त्यसबारे रास्वपाले थप समय मागेको बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘एक कदम हामी अघि बढ्यौं र छानबिनलगायत बारेमा लिखित सहमति गर्ने ठाउँतिर हामी गयौं ।’ भिजिट भिसा प्रकरणबारे सत्तापक्षले अध्ययन तथा छानबिनको प्रतिबद्धता जनाएको पनि अध्यक्ष प्रचण्डले जानकारी दिए ।
‘भिजिट भिसा प्रकरणमा अध्ययन र छानबिन गर्न आवश्यक संरचना बनाएर ठोस पहल लिने भन्ने सत्ता पक्षको प्रतिबद्धता आएपछि प्रतिपक्षको बीचमा सकारात्मक वातावरण बनेको छ । अझै पनि प्रतिपक्षका साथीहरूलाई अझै केही छलफल गर्न पाउनुपर्यो, हामी पनि सत्तापक्षसँग कुरा गर्न पाउनुपर्यो, सदन आज सुरू गरेर स्थगित गरौं भन्ने कुरा भयो,’ उनले भने, ‘भोलि चाहिँ यो टुंगिन्छ । रास्वपाका साथीहरूले समय माग्नुभयो ।’
प्रतिक्रिया