प्रहरीलाई आगामी वर्ष तलब, पोशाक र रासनमा कमी हुँदैनः गृहमन्त्री

प्रहरीलाई आगामी वर्ष तलब, पोशाक र रासनमा कमी हुँदैनः गृहमन्त्री



काठमाडौं । गृहमन्त्री रमेश लेखकले आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको बताएका छन् । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

मुलुकको साधन, स्रोत र बजेटको स्थितिलाई हेरेर तुलनात्मक रुपमा बढी बजेट विनियोजन गरेको गृहमन्त्री लेखकको भनाइ छ । उनले यसअघिका वर्षहरुमा ८ देखि ९ महिनासम्मका लागि तलब, पोशाक, रासनको व्यवस्था हुने, नौ महिना पुगेपछि फेरि अर्थ र गृह मन्त्रालयमा एक खालको जटिलता उत्पन्न हुने गरेको भन्दै यस पटक त्यस्तो समस्या आउन नदिने गरी बजेट विनियोजन गरेको बताए ।

वर्षभरका लागि तलब, पोशाक, रासनको एकमुष्ट बजेट विनियोजन गरिएको उनको दाबी छ । अनुसन्धानमा प्रविधिको प्रयोग गर्ने विषय, ल एण्ड अर्डर मेण्टन गर्न, शान्ति सुरक्षा कायम गर्न, आवश्यक सामग्रीहरुको व्यवस्थापन गर्नका लागि आगामी आर्थिक वर्षमा कमी हुन नदिने बताए ।

‘यसपालि तुलनात्मक रुपले सुखद कुरा के छ भने आगामी वर्षको बजेटमा नेपाल प्रहरीतर्फ बजेटको उल्लेख्य वृद्धि भएको छ । उल्लेख्य भनेको धेरै बढी होइन, मुलुकको साधन र स्रोत तथा बजेटको स्थितिलाई हेर्दा तुलनात्मक रुपले राम्रो छ । यो भन्दा पहिला जम्माजम्मी ८ देखि ९ महिनासम्मका लागि तलब, पोशाक, रासनको व्यवस्था हुने, नौ महिना पुगेपछि फेरि अर्थ र गृह मन्त्रालयमा एक खालको जटिलता उत्पन्न हुन्थ्यो ।,’ गृहमन्त्री लेखकले भने, ‘यसपालि तलब, पोशाक, रासन एकमुष्ट वर्षभरका लागि विनियोजन गरिएको छ । त्यसमा अब कुनै तनाव हुनेवाला छैन । त्यसपछि थप केही स्रोत, साधनहरु जस्तो अनुसन्धानमा प्रविधिको प्रयोग गर्ने विषय होस् वा गाडीहरुका लागि ल एण्ड अर्डर मेण्टन गर्नका लागि शान्ति सुरक्षा कायम गर्नका लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन गर्नका लागि आगामी आर्थिक वर्षमा कमी हुनेछैन । तर अब त्यसअनुरुप रिजल्ट पनि दिनुपर्छ ।’