उद्योग समितिमा सांसदहरूबीच चर्काचर्की

उद्योग समितिमा सांसदहरूबीच चर्काचर्की



काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा सांसदहरूबीच चर्काचर्की भएको छ ।

सिंहदरबारमा बसेको समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले आफ्नो धारणा राखेपछि त्यसै विषयलाई लिएर सांसदहरूले आपत्ति जनाएका हुन् ।

बैठकमा सांसद पराजुलीले संसदीय समितिमा मानव तस्करीविरुद्ध उभिने सांसद सदनमा आफ्नो पार्टीको ‘ह्विप’ मानेर निरीह बन्ने गरेको टिप्पणी गरेका थिए ।

भिजिट भिसा प्रकरण रास्वपाको मुद्दा मात्रै हो भन्दै उनले प्रश्न गरेपछि सत्तापक्षका सांसदहरूले आपत्ति जनाए । नेपाली कांग्रेसका सांसद राजु थापाले भिजिट भिसा प्रकरणमा अख्तियारले छानबिन गरिरहेकाले समितिको विषय नभएको बताए । उनले आफूहरूलाई निरीह भनिएकोमा आपत्ति जनाउँदै पराजुलीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।

नेकपा (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले मानव तस्करीको विरोध आफूहरूले पनि गरेको बताए । चर्को विवाद भएपछि समितिका सभापति अब्दुल खानले विषयवस्तुभित्र रहेर धारणा राख्न सदस्यहरूलाई आग्रह गरेका थिए ।