काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपाले तीन दलबीचको सहमतिमा हस्ताक्षर नगरेकाले आफ्नो ढंगले जाने बताएका छन् ।
संसद् भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा उनले यस्तो बताएका हुन् ।
“हस्ताक्षरको तयारी छ,” उनले भने, “रास्वपासँग मुलभुत विषयमा फरक छैन । तर अडानका कारण उहाँहरु केही समय आफ्नो ढंगले जानुहुन्छ ।”
कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरुले हस्ताक्षर गरे पनि रास्वपा भने दुई बुँदामा सहमत नभएपछि ठाउँ खाली राखिएको छ ।
“भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित अनियमितताका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त विषय सम्बन्धमा छानबिनका लागि सरकारले आवश्यक सहजीकरण गर्नेछ,” पहिलो बुँदामा भनिएको छ ।
त्यसैगरी दोस्रो बुँदामा भनिएको छ, “अध्यागमन र भिजिट भिसाका सम्बन्धमा देखिएका समस्या समाधान गर्न आवश्यक अध्ययन गरी नीतिगत, कानुनी र संरचनागत प्रश्नहरुमा उपयुक्त व्यवस्था/संरचनाका लागि ठोस पहल गरिनेछ ।”
प्रतिक्रिया