काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्दै उनले आफू लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेकोले संवैधानिक निकायको काममा सहयोग गर्ने जिकिर गरे ।
‘उक्त कार्यमा मेरो कुनै संलग्नता छैन । हुन सक्दैन । मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगले आक्रमण भएको छ । यसको म खेद व्यक्त गर्दछु,’ उनले भने ।
गृहमन्त्री लेखकले बोल्दैगर्दा रास्वपाका सांसदहरूले नाराबाजी गरिरहेका छन् ।
गृहमन्त्री लेखकले अख्तियारमा दुई जना डीआईजी हुने अवस्था आएसँगै एक जनालाई सरुवा गरिएको जवाफ दिएका छन् ।
लेखकले भने, ‘त्यहाँ कार्यरत एसएसपी डीआईजीमा बढुवा भएपछि एक जनालाई त्यहाँबाट सरुवा गरेको हुँ ।’ उनले प्रश्न गरे, ‘के तपाईँहरू मेरो ठाउँमा भएको भए दुई जना डिआईजी राख्नुहुन्थ्यो ?’
अख्तियारमा कार्यरत एसएसपी ओम राना बढुवा भएपछि त्यहाँबाट एक जनालाई सरुवा गरिएको उनले बताए ।
अख्तियारमा यसअघि कार्यरत हिमालय श्रेष्ठलाई राखेर ओम रानालाई उपत्यका प्रहरी कार्यालयमा पठाइएको छ । हिमालय श्रेष्ठलाई सरुवा गर्दा विवाद भएपछि लेखकले उनलाई थमौती गरेका थिए ।
प्रतिक्रिया