प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


ग्लोब नेपाल
0
Shares

काठमाडौं । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ बजे संसद् भवन नयाँवानेश्वरमा बस्नेछ । आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२ बैठकमा पेस गर्नेछन् ।

यसैगरी, उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आगामी आर्थिक २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने बताइएको छ ।

प्रतिनिधि सभा बैठकमा गृह मन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै रास्वपा र राप्रपाले भने विरोध जनाउँदै आएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) शुक्रबार सत्तापक्ष दलहरूसँग दुई बुँदे सहमति गरी संसद खुलाउन तयार भएको थियो । सहमतिपछि शुक्रबार नै गृह मन्त्री रमेश लेखकले भिजिट भिसालाई लिएर आफूमाथि लगाइएको आरोपबारे संसदमा स्पष्टीकरण दिएका थिए।