बजेटको विरोध गर्दै संसद्को बाल्कोनीमा उभिए कांग्रेस सांसद बजगाईं

बजेटको विरोध गर्दै संसद्को बाल्कोनीमा उभिए कांग्रेस सांसद बजगाईं



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईं संसद्को बाल्कोनीमा पुगेर बजेटको विरोध गरेका छन् ।

आइतबारको बसेको प्रतिनिधिसभा बैठकमा सांसद बजगाईंले बजेटको विरोध गर्दै बाल्कोनीमा पुगेर उभिएका हुन् । गोरखामा पर्याप्त बजेट विनियोजन नगरेको र योजना पनि काटेको भन्दै विरोधका लागि उनी त्यहाँ पुगेका हुन् ।

उनी गोरखाका जिल्लावासी समेत लिएर दर्शक दिर्घामा गएर बसेका हुन् । उनी संसद्को हाजिर गरेर दर्शक दिर्घामा गएका हुन् । केहीबेर बसेर उनी सांसद बस्ने सभाकक्षमा पुनः गएका थिए ।

विरोध लगत्तै उनले नोट पनि जारी गरेका छन् ।

‘सम्माननीय केपी शर्मा ओली नेपालका प्रधानमन्त्रीज्यूलाई गोरखा लुकेको कर्णाली हो भन्ने विषय राम्रो ज्ञान छ । बूढीगण्डकी परियोजना निर्माण गर्ने अठोट पनि छ । नेपालका अर्थतन्त्र चलायमान गर्न कहाँकहाँ अवरोध छन् त्यो पनि थाहै छ ! भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालजी, तपाइ ले नेपालको भूगोल र प्रजातन्त्रको आधारभूत तत्त्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो भन्ने बुझ्नु भएन,’ उनले भनेका छन् ।

भौतिक मन्त्रीले गोरखाको बिनासडकको पुल निर्माण गर्ने तत्कालीन पूर्वाधारमन्त्रीको पक्षपोषण गरेको पनि आरोप लगाएका थिए ।

‘बजेटको विरोध दर्शक दीर्घाबाटै गर्नुपर्ने परिस्थिति हुनु दुखद विषय हो,’ उनले भनेका छन्, ‘प्रजातन्त्रको आधारभूत तत्त्व भनेको नागरिकका मौलिक अधिकारहरू र स्रोत साधनको समान वितरण हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्री माननीय देवेन्द्र दाहालले न त प्रजातान्त्रिक मूल्यको मर्म बुझेका छन्, न त देशको भूगोलप्रति आवश्यक समझदारी राख्छन्।’
भौतिक मन्त्री दाहाल गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिएको उनले आरोप लगाएका छन् ।

‘गोरखाली जनताको तर्फबाट म उहाँको निर्णयको घोर भत्र्सना गर्दछु । पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनु भएको छ—जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ,’ उनले भनेका छन्, ‘मैले संसदभित्र मात्र होइन, आम दर्शक–श्रोतामाझ पनि बजेटको यो विकृति विरुद्ध आफ्नो विरोध सार्वजनिक रूपमा प्रकट गरेको छु ।’