रास्वपाले जनतालाई नै गुमराहमा राख्याे : प्रकाशशरण महत

रास्वपाले जनतालाई नै गुमराहमा राख्याे : प्रकाशशरण महत



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू बजेटका तमाम विषयको छलफलमा सहभागी नभएर एउटा महत्त्वपूर्ण अवसर गुमाएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद डा. महतले बजेट वर्षमा एक पटक आउने र बजेटको तमाम विषय चिरफार गर्नुपर्ने समयमा आन्दोलन गरेर उक्त अवसर गुमाएको बताएका हुन् ।

“रास्वपाका साथीहरूले पनि यो बहसमा सहभागी भएर गम्भीर छलफल गर्नुपर्थ्यो । बजेट वर्षमा एक पटक आउँछ । त्यो बजेटको तमाम विषयमा चिरफार गर्ने त्यसका कमजोरी, राम्रो पक्ष सबै पक्षमा छलफल गर्ने एउटा महत्त्वपूर्ण अवसर उहाँहरूले गुमाउनुभएको छ ।,” उनले भने ।

उनले कुनै पनि आधार नै नभएको विषयलाई लिएर छलफलमा भाग नलिनु जनप्रतिनिधिको हैसियतले जनतालाई नै गुमराहमा राख्नु सरह भएको आरोप लगाए ।

विरोधका बिच पनि प्रमुख प्रतिपक्षी दलले सक्रिय सहभागिता जनाउनु खुसीको विषय भएको बताउँदै उनले मुलुकको वित्त व्यवस्थापनका कुराहरू बजेटले बोल्ने भएकाले तथ्यहीन विषयमा आन्दोलन गरिरहनुको कुनै औचित्य नभएको टिप्पणी गरे ।

उनले परिणाममुखी बजेटको आवश्यकतालाई ध्यान दिँदै अर्थमन्त्रीले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई परिणाममुखी बनाउने कोसिस गरेको जिकिर गरे ।

वित्तीय संस्थाका कोष सरकारीमा सार्ने विषय ऐच्छिक गरौं

डा. महतले बैंक तथा वित्तीय संस्थामा सञ्चालित कोष सरकारीमा सार्न हतार गर्न नहुने बताएका छन् । उनले यो व्यवस्था यसैपालि अनिवार्य गर्न नहुनेमा जोड दिएका हुन् ।

“बैंक तथा वित्तीय संस्थाहरूमा अवकाश कोष खडा गरिएको छ । ती कोषहरू अनिवार्य रूपमा सामाजिक सुरक्षा, नागरिक लगानी कोष या अरूमा अनिवार्य रूपमा जाडिनुपर्छ भनेर प्रस्ताव गरिएको छ । यसलाई अहिलेले नै यसैपालि अनिवार्य नबनाऔँ,” उनले भने ।

डा. महतले यसलाई स्वेच्छिक रूपमा जोडिन दिँदा उपयुक्त हुने बताए । जानैपर्ने भन्ने अनिवार्य व्यवस्थाले समस्या निम्त्याउने उनको भनाइ थियो ।

“उनीहरूले स्वतन्त्र रूपमा हरेक बैंकमा अवकाश कोष बनाएका छन् । त्यो कोषबाट पनि लगानी भइरहेको छ । अनिवार्य रूपमा कोष विघटन गरेर सरकारी कोषहरूमा जानुपर्ने व्यवस्था अहिले ऐच्छिक गरौँ,” उनले भने ।