निजामती विधेयकसम्बन्धि राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

निजामती विधेयकसम्बन्धि राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस



काठमाडौं । प्रतिनिधिसभा बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सम्बन्धि राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन पेस भएको छ ।

आइतबार समितिका सभापति रामहरि खतिवडाले बैठकमा प्रतिवेदन पेस गरेका हुन् ।

जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको निजामती विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले जेठ २ गते सर्वसम्मतीले विधेयक पारित गरेको थियो ।

विधेयकमा समितिबाट अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्‍याउने, कुलिङ पिरियड २ वर्ष राख्ने व्यवस्था गरिएको छ ।

“दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको छ”, सभापति खतिवडाले भने ।

यी दुई विषय निजामती कर्मचारी संगठनहरूले यी प्रावधान हटाउन माग गर्दै आएका छन् ।

मुख्यसचिव एकनारायण अर्यालसहितका सचिवहरूले हुल बाधेरै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर सच्याउन माग गरेका थिए ।

ती व्यवस्था नहटेको सभापति खतिवडाले बताएका छन् ।

उनले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रुप दिइएको बताए ।

प्रतिनिधिसभाको अर्को बैठक यही असार २ गते सोमबार बिहान ११ बजे बस्नेछ ।