काठमाडौं । गत १५ चैतमा काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको आराजक र हिसांत्मक प्रदर्शनको कमाण्ड गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मिडिया हाउससहित विभिन्न ठाउँमा आगो लगाउनुपर्छ भन्दै आफ्ना समर्थकलाई पठाएको म्यासेज प्रहरीले फेला पारेको छ ।
आगो लगाउने र मिडिया हाउस केन्द्रित आक्रमण गर्न आह्वान गर्दै म्यासेज पठाएको भेटिएपछि यसैलाई मुख्य प्रमाण मानेर अदालतले प्रसाईंलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । बिहीबार राति साढे १२ बजे काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित ७ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । प्रसाईं अहिले डिल्लीबजार कारागारमा छन् ।
उक्त हिंसात्मक घटना गराएको आरोपमा पक्राउ परेका व्यक्तिहरुबाट बरामद भएका मोबाइल जाँच गर्ने क्रममा प्रसाईंले ‘आगो लगाउनुपर्छ’ भन्दै म्यासेज पठाएको भेटिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले जानकारी दिएका छन् । मोबाइल जाँचका लागि ‘डिजिटल फरेन्सिक ल्याब (डीएफएल)’मा पठाइएको थियो ।
डीएफएल जाँचका क्रममा प्रसाईंले भिडलाई हिंसात्मक बनाउन उक्साउने गरी म्यासेज गरेको भेटिएको अनुसन्धानमा संलग्न ती प्रहरी अधिकृतले बताए । ‘सरकारलाई अब आगो लगाउनुपर्छ । अब चाहिँ सबै जिल्लाहरुमा यस्तै गर्नुपर्छ । ठाउँ–ठाउँमा आगो लगाउने हो अब। मिडिया पनि जलाउनुपर्छ,’ प्रसाईंले पठाएको म्यासेजमा लेखिएको छ ।
चैत १५ मा तिनकुनेमा प्रहरीसँग झडप भएपछि राजावादीहरुले घर, पार्टी कार्यालय, सवारी साधन र जडिबुटीमा सन्चो औषधी उत्पादन हुने उद्योग लगायतमा आगजनी गरेका थिए । साथै कान्तिपुर र अन्नपूर्ण पोष्टका कार्यालयमा ढुंगा प्रहार भएको थियो ।


प्रतिक्रिया