काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।
वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय, पर्साले ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबीसहित अदालतमा मुद्दा दर्ता गरेको छ ।
प्रहरीले अनुसन्धान सकेर करिब १ महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएको थियो ।
त्यसै आधारमा सरकारी वकिलको कार्यालयले अध्ययनपछि लामिछानेसहित २९ जनाविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।
सोही मुद्दामा छविलाल जोशीसँग ७ करोड २० लाख बिगो, सहकारी ऐनअनुसार बिगोबमोजिम सजाय र जरिवाना तथा संगठित अपराध नियन्त्रण ऐनअनुसार थप सजायसमेत माग गरिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सानो पाइलाबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार रुपैयाँ र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको थियो ।
सहकारी ऐन २०७४ को दफा १ सय २४ अनुसार १० करोडभन्दा बढी १ अर्बसम्म बिगो भएकाले लामिछानेलाई ६ देखि ८ वर्ष कैद सजाय पनि हुन सक्छ ।
यसबाहेक उनीमाथि संगठित अपराध निवारण ऐन २०७० को दफा ९ को खण्ड (क) र (ग) बमोजिम थप सजायसमेत माग गरिएको छ । जसअनुसार उनलाई प्रचलित कानुनको अतिरिक्त ५० प्रतिशत थप सजाय पनि हुन सक्छ ।


प्रतिक्रिया