काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले वेल घेराउ गर्दै नाराबाजी गरिरहेको छ ।
रास्वपा सांसदहरूले आजको बैठकको सुरूमा केहीबेर वेल घेराउ र नाराबाजी गरेर भुइँमा पलेँटी कसेर बसिरहेका छन् ।
वेलमा पलेँटी कसेकाप्रति एमालेका सांसद सूर्य थापाले नियमापत्ति गरेका छन् । प्रतिनिधि सभा सञ्चालन २०७९ को दफा २० देखाउँदै उनले नियमापत्ति गरे ।
‘नियमावली २० अन्तर्गत मैले नियमापत्ति गर्नुपर्ने महसुस भयो । हामी बजेटमाथिको छलफलमा छौं । यो छलफलका क्रममा बैठक कसरी चल्नुपर्ने हो । कस्तो वातावरण बनाउनुपर्ने हो । हामी सबै सदस्यहरूले कस्तो मर्यादा पालन गर्नुपर्ने हो, कस्तो मर्यादाका बीचमा बैठक सञ्चालन गर्नुपर्ने हो भनेर ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।
‘हामी रत्नपार्कमा छौं कि, सहिदगेटमा छौं कि, कलंकीमा छौं कि, पोखरा चिप्लेढुंगामा छौं!’ भन्दै उनले रास्वपा सांसदहरूलाई कटाक्ष गरे ।
‘मैले बुझ्न पाइनँ । बुझ्न पाइनँ । माननीय सदस्यहरूका कुर्सी रोइराखेका छन् । कुर्सीले माननीय सदस्यहरूलाई भेट्न पाएका छैनन्,’ थापाले भने ।
थापाले यसो भनेपछि रास्वपाको सांसदहरूले प्रतिवाद गरेका थिए ।


प्रतिक्रिया