काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अदालतले न्याय दिएको प्रतिक्रिया दिएका छन् ।
काठमाडौं जिल्ला अदालतले तोकेको ३ लाख धरौटी बुझाएर निस्किएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अदालतले आफ्नो विवेक प्रयोग गरेकाे बताएका हुन् ।
‘राज्यले अन्याय गर्दा पनि अहिलेको परिस्थितिमा पनि अदालत न्याय दिन सक्षम रहेछ,’ मिश्रले भनेका छन्, ‘अदालतले आफ्नो विवेक प्रयोग गर्ने ठाउँमा गर्दो रहेछ भन्ने कुराले नेपालको न्याय प्रणालीमाथि दृढ विश्वास गर्छु ।’
राज्यबाट दोषी करार हुनेगरी आफूमाथि लगाइएको विभिन्न आरोप दुखद रहेको उनले बताए ।
अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले उनलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । आदेश लगत्तै उनी धरौटी बुझाएर अदालतबाट बाहिरिएका हुन् ।
मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।


प्रतिक्रिया