पूर्वराष्ट्रपति विद्या भण्डारी साँझ किन छिरिन् बालुवाटार ?

पूर्वराष्ट्रपति विद्या भण्डारी साँझ किन छिरिन् बालुवाटार ?


ग्लोब नेपाल
3.9k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । ओली भेट्न भण्डारी मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी थिइन् ।

ओली र भण्डारीबीच करिब एक घण्टा एक्लाएक्लै वार्ता भएको थियो । बालुवाटार उच्च श्रोतका अनुसार ओली र भण्डारीबीच एमालेको आन्तरिक राजनीति, मुलुकको अवस्थालगायत विषयमा छलफल भएको थियो । भण्डारीले गत महिना भएको आफ्नो चीन भ्रमणबारे समेत ओलीलाई अवगत गराएकी थिइन् ।

सक्रिय राजनीतिमा आउने तयारीमा रहेकी भण्डारी र ओलीको यो भेट एमाले राजनीतिमा अर्थपूर्ण रहेको बताइएको छ । केही समयअघिदेखि ओली र भण्डारीले एकअर्का लक्षित अभिव्यक्ति दिँदै आएका छन् । ओलीले महाधिवेशन आउन धेरै समय बाँकी रहे पनि कोही आउँदैछ भन्ने हल्ला नचलाउन चेतावनी दिएका थिए ।

गत साता गृहप्रदेश कोशी भ्रमणमा गएकी भण्डारीले विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू राजनीतिक व्यक्ति भएको र एमालेमा धेरै लगानी गरेको भन्दै एमाले नेतृत्वसँग सोधेर हिंड्न जरुरी नभएको प्रतिक्रिया दिएकी थिइन् ।