काठमाडौं । बुधबार बिहान बसेको नेपाली कांग्रेसको केन्द्रीय कमिटीको आकस्मिक बैठकले शोक प्रस्ताव पारित भएको छ । पूर्वमन्त्री, केन्द्रीय सदस्य एवम् समाजवादी चिन्तक ढुण्डीराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै बैठकले शोक प्रस्ताव पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
असार ४, ५ र ६ गते ३ दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने, असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राखिनुका साथै सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने बैठकले निर्णय गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं समाजवादी चिन्तक श्री ढुण्डिराज शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा २०८२ असार २ गते भएको निधनले हामीलाई मर्माहत र स्तब्ध बनाएको छ । कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।’
शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो । पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले शास्त्रीको पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए । पार्टीका पदाधिकारी, नेता, कार्यकर्तालगायत सानेपा पुगेर शास्त्रीलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।
शास्त्रीको पार्थिव शरीर ११ बजेसम्म पार्टी कार्यालय सानेपामै राखिएको थियो ।
विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका स्वर्गीय शास्त्रीले प्रजातन्त्र पुनस्र्थापनाको संघर्ष र आन्दोलनहरूका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताएका थिए । स्व शास्त्री जननायक बीपी कोइरालाका अनुयायी, समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत हुन्। अर्घाखाँची जिल्लाको किमडाँडामा विसं १९९३ जेठ २५ गते जन्मेका स्वर्गीय शास्त्री पटक–पटक पार्टीको केन्द्रीय सदस्य हुनुका साथै विसं २०४८ र २०५१ को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
शोक विज्ञप्तिमा ‘नेता शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति नेपाली कांग्रेस उच्च सम्मान प्रकट गर्दछ’ उल्लेख छ ।




प्रतिक्रिया