विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं : विष्णु पौडेल

विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौं : विष्णु पौडेल



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान महाधिवेशन नै नभई पार्टी नेतृत्वका विषयमा अनावश्यक अनुमान गर्ने र विभाजित हुने काम नगर्न जनसङ्गठनलाई निर्देशन दिएका छन् ।

नेकपा एमाले जनसङ्गठन संयन्त्रको बैठकलाई बुधबार सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले भने, ‘विधान महाधिवेशन भन्दा पहिला नेतृत्वको विषयमा छलफल नगरौँ । विधान महाधिवेशनले विधि तय गरेपछि नेतृत्वको बारेमा छलफल गरौँला । एमालेमा नेतृत्वको विषयमा कुनै समस्या छैन ।’

उपाध्यक्ष पौडेलले पार्टी र जनसङ्गठनमा देखिएको शिथिलतालाई चिर्न सबै लाग्नुपर्नेमा जोड दिए । ‘एमालेमा कुनै बेला सिटी फुकेको भरमा हजारौँ मानिस सडकमा आउँथे । अहिले किन मानिसह शिथिल भएका छन् ?’ उपाध्यक्ष पौडेलले भने, ‘आम जनतामा ऊर्जा भर्न र जनताको बीचमा जान पार्टीका महत्त्वपूर्ण अङ्ग जनसङ्गठन नै हुन् । उनीहरुले यो भूमिका निवार्ह गर्नुपर्दछ । ’

नेकपा एमालेमा देखिएका समस्याको समाधान नीति र विधिबाट गर्न नेतृत्व सक्षम भएको बताएका छन् । समकालीन राजनीतिक पार्टीमा एमाले नै कम आन्तरिक समस्या भएको पार्टी रहेको पनि नेता पौडेलको दाबी छ । समस्या समाधानका लागि कसैको सहयोग नचाहिने पनि पौडेलले प्रस्ट्याए ।

‘कतैपनि सग्लो पार्टी भेटिँदैन । धोएको मुला जस्तो,गंगाजल जस्तो पार्टी भेटिँदैन’ उपाध्यक्ष पौडेलले भने, ‘तर एमाले कम आन्तरिक समस्या भएको पार्टी हो । जे जस्ता समस्या पार्टीमा देखिन्छन् तिनलाई समाधान दिन वर्तमान नेतृत्व सक्षम छ ।’

उपाध्यक्ष पौडेलले पार्टीको विधान महाधिवेशन नजिकिँदै गरेकोले त्यसको तयारीमा पार्टी लागिरहेको जानकारी दिँदै भदौको तेस्रो साता हुने विधान महाधिवेशनले १० औँ राष्ट्रिय महाधिवेशनपछि पार्टीले वैधानिक रूपमा सच्याउनु पर्ने,कार्यान्वयनमा भएका अप्ठ्यारालाई सहज बनाउन विधान महाधिवेशनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘विधान महाधिवेशन अघिल्लो विधान महाधिवेशन देखि हालसम्म पार्टी सङ्गठन सञ्चालनमा देखिएका समस्यालाई वैधानिक रूपमा नै सुधार गर्ने विधि तय गर्नेछौँ’ उपाध्यक्ष पौडेलले भने,‘केन्द्रीय कमिटीले विधानमा संशोधन गर्नुपर्ने विषयहरू प्रस्ताव गर्दछ । यी विषयहरू हामी महाधिवेशन प्रतिनिधिलाई पहिले नै पठाएर थप समृद्ध गर्न भन्नेछौँ ।’

उपाध्यक्ष पौडेलले पार्टी निर्माणमा जनसंगठनको सशक्त भूमिका निर्वाह गर्नुपर्ने भन्दै २०४६/०४७ सालका जनसङ्गठन, २०६२/०६३ सालका जनसङ्गठन धेरै सशक्त भएको स्मरण गरे । ‘जनसङ्गठन पार्टीको ब्याड हो । यहाँ रोपेका बिरुवा हुर्किएपछि पार्टीमा सारिन्छ’ पौडेलले भने, ‘त्यसैले मुलरुपमा पार्टीको सम्पर्कमा नयाँ मानिसहरुलाई ल्याउने काम जनसंगठनको नै हो । तर अहिले कतिपय जनसंगठनले पार्टीकै कार्यकर्ता लगेर सङ्गठित गर्ने अनि फेरी पार्टीमै फर्काइदिने गरेका छन् । यसले सङ्गठन र पार्टीको बिस्तार हुँदैन ।’