काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।
बुधबार उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न आदेश दिएको हो ।
‘२०८२ जेठ २० गते को निलम्बन गरिएको पत्र कार्यान्वयन नगरी यथास्थितिमा राखी निवेदकलाई निजको पदमा रही कामकाज गर्न दिनू/दिलाउनू भनी उच्च अदालत नियमावली नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाउँमा अन्तरिम आदेश जारी गरी दिइएको छ,’ आदेशमा उल्लेख छ ।
अदालतमा महानगर प्रहरीको परिचालन, रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई रहेको कुरालाई नगर प्रमुख पाण्डेले इन्कार नगरेको भन्दै सुविधा र सन्तुलनको दृष्टिकोणमा जाँचबुझ समितिको काम कारबाही अघि बढाउन उनलाई निलम्बन गर्नुपर्ने अवस्था नरहेको आदेशमा उल्लेख छ ।
पाण्डेले आफूलाई निलम्बन गरेको भन्दै जेठ २५ गते नै पाटनमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा दुबै पक्षलाई छलफल गर्न उच्च अदालत पाटनले बुधबार बोलाएको थियाे ।
प्रतिक्रिया