महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक

महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक



काठमाडौं । आउँदो वर्ष इङ्ग्ल्यान्डमा हुने आईसीसी महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक भएको छ । इङ्ग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले १०औं संस्करणको महिला टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार उद्घाटन खेलमा जुन १२ मा आयोजक इङ्ग्ल्यान्ड र श्रीलङ्का खेल्नेछन् । ३३ खेलको यो प्रतियोगिताको फाइनल खेल लड्र्समा हुनेछ । १२ वटा टोली सहभागी हुने प्रतियोगितामा समूह चरणका खेलहरू हेडिङ्ग्ली, ओल्ड ट्राफर्ड, एजबास्टन, द ओभल, द ह्याम्पशायर बाउल र ब्रिस्टलको काउन्टी ग्राउन्डमा हुनेछन् ।

महिला टी–२० विश्वकपका लागि आयोजक इङ्ग्ल्यान्डसहित श्रीलङ्का, अस्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, वेस्ट इन्डिज, पाकिस्तान र पूर्वविजेता न्युजिल्यान्ड पहिले नै छनोट भइसकेका छन् भने बाँकी ४ वटा टोली यस वर्षको अन्त्यमा हुने छनोट प्रतियोगिताबाट टुङ्गो लाग्नेछ ।

समूह १ मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, पाकिस्तान छन् । समूह २ मा वेस्ट इन्डिज, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड र श्रीलङ्का छन् । यस्तै छनोटबाट आउने ४ टोलीमध्ये २ वटा समूह १ मा २ वटा समूह २ मा हुनेछन् । समूहका शीर्ष २ टोली सेमिफाइनलमा पुग्नेछन् ।

महिला टी–२० विश्वकपमा पहिलो पटक १२ वटा टोली सहभागी हुन लागेका हुन् । प्रतियोगिताको पछिल्ला ६ संस्करणहरूमा १० वटा टोली समावेश हुँदै आएका थिए ।