काठमाडौं । परराष्ट्र मन्त्राललयले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा नगर्न आग्रह गरेको छ । बुधबार मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी गर्दै इजरायल र इरानबीच द्वन्द्व बढेकाले त्यस क्षेत्रको भ्रमण नगर्न आग्रह गरेको हो ।
इजरायल वा इरान बाहेकका मध्यपूर्वीय मुलुकतर्फको भ्रमण तथा वैदेशिक रोजगारीका लागि जान लागेकाहरुले पनि यात्रा स्थगन गर्नु उपयुक्त हुने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले सुरक्षाको पूर्ण ध्यान दिन, सम्भव भएसम्म भिडभाडयुक्त ठाउँमा नजान र स्थानीय सुरक्षासम्बन्धी निर्देशनको पालना गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले इजरायल तथा इरान जाने तयारीमा रहेका नेपाली नागरिकहरूलाई यात्रा योजनालाई पुनरावलोकन गर्न सुझाव समेत दिएको छ ।
प्रतिक्रिया