कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरसको जोखिम कायमै रहेको छ ।
पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट हिजो फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ ।
सीमा नाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो । भारतबाट फर्केका बिरामीमा उच्च ज्वरो, श्वासप्रश्वास र रुघाखोकीको समस्या रहेको र एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि अस्पतालको ‘आइसुलेसन’मा राखेर उपचार भइरहेको सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले बताए ।
नाका हुँदै फर्केका शङ्कास्पद पाँच जनाको एन्टिजेन परीक्षणको कार्य गरिँदा एक जनाको नतिजा मात्रै पोजेटिभ देखिएको हो ।
भारतबाट फर्कनेमा कोरोनाको सङ्क्रमण देखिन थालेकाले मास्क तथा स्यानिटाइजरको प्रयोगसँगै स्वास्थ्यसम्बन्धीका सावधानी अपनाउन डाक्टरको सुझाव छ ।
समुदायस्तरमा सङ्क्रमण फैलिन नदिन कोरोनाको सङ्क्रमणमा परेका व्यक्तिहरुले क्वारेन्टिन वा होमआइसुलेसनमा इमान्दारिपूर्वक बस्न महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.अर्जुन भट्टको सुझाव छ ।
भारतसँग सीमा जोडिएका प्रदेशका पाँचवटा क्षेत्रमा ‘हेल्थ डेस्क’ मार्फत शङ्कास्पद बिरामीको एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ ।
कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा र खकरौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमा नाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले कोरोनाका शङ्कास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको काम गर्दै आएका छन् ।
गएको जेठ २१ देखि हिजोसम्म सीमानाका हुँदै फर्केका २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ जना निको भएका छन् भने अझै सात जना होम आइसुलेसनमा बसेर उपचार गरिरहेका छन् ।


प्रतिक्रिया