एक फिरन्ते स्वयंसेवक

एक फिरन्ते स्वयंसेवक



अनुहारजस्तै हरेक मानिसको सोच र शौख पनि फरक–फरक हुन्छ। केही मानिसको सोच र शौख यस्ता हुन्छन्, जुन आम मानिसहरूको भन्दा नितान्त फरक हुने गर्छ। यस्ता मानिसहरूले गर्ने काम र काम गर्ने शैली पनि भिन्न हुन्छ, जसले समाज र परम्परागत सोच परिवर्तनमा सकारात्मक भूमिका निर्वाह गरिरहेको हुन्छ।

आफ्नो निजी काम छाडेर जनसेवाका लागि निःस्वार्थ रुपमा खटिने व्यक्ति थोरै मात्र हुन्छन्। यस्ता व्यक्तिहरूले गरेका स–साना कामहरूले समाजसेवा र मानव सेवामा नयाँ आयाम थपिरहेका हुन्छन्। अझ ‘बहुजन हिताय, बहुजन सुखाय’को आदर्श वाक्यलाई स्थापित गर्न सघाइरहेका हुन्छन्।

यस्तै फरक सोच र शौख राख्ने व्यक्तिहरूमध्ये एक हुन् स्वयंसेवी अजित खड्का ।

हेर्दा सामान्य लाग्ने– पाको अनुहार, जुंगा पालेका, फुस्रो क्याप लगाएका, विदेशीहरू झैं झोला भिरेर हिँड्ने– आम नेपालीभन्दा अलिक फरक हुलिया छ उनको। तर हुलियाजस्तै उनको सोच पनि फरक छ।

देश–विदेशका धेरै ठाउँमा काम गरेर एउटा फिरन्तेझैं जीवन अनुभव संगालेका उनी भन्छन्, “विदेशमा पैसा फल्ने रुख छैन। नेपालमै अपार सम्भावना छन्।” नेपाली जनताको सेवा जस्तो आनन्ददायक काम अर्को छैन भन्ने विश्वास राख्छन्। यही प्रेरणाले आफूलाई रातदिन खट्न ऊर्जा मिल्ने बताउँछन्।

स्वयंसेवी अजित खड्का

“मेरी श्रीमतीले पनि अरूको जस्तै आम धारणा बनाइसकेकी रहिछन्,” उनले भने, “‘नेपालमा केही छैन, सबै खतम भए, सकाए यस्तै यस्तै…”
मैले उनलाई सम्झाउँदै भनेँ– “यहाँ के छैन र ? १ सय २ वर्षका बुबा हुनुहुन्छ, म छु, तिमी छौ, छोरा छ, आत्मीय पारिवारिक माहोल छ। बस्नलाई आफ्नै घर छ, खानलाई दुई छाक मिठो मसिनो छ। यो भन्दा अरू के चाहियो र ? यस्तो पारिवारिक वातारण त विश्वका अरू ठाउँमा दुर्लभ छ। देश सानो भए पनि यहाँको भौगोलिक विविधता अचम्मको छ– ३५ डिग्री नाघ्न नपाउँदै पानी परिहाल्छ, यस्तो वातावरण अन्यत्र कहाँ हुन्छ र?”

त्यसो त उनी अन्तर्राष्ट्रिय स्वयंसेवक संस्थासँग आवद्ध व्यक्ति हुन्, धेरै सामाजिक काम र अभियानमा पनि संलग्न छन्। तर उनको एउटा दिनचर्या भने विशेष छ – हरेक दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म रक्तदान केन्द्रमा स्वयंसेवा गर्नु।

किन त ? उनी भन्छन्– “मेरी श्रीमती प्रसूति गृहमा जीवन–मरणको दोसाँधमा थिइन्। म रगतको जोहो गर्न भृकुटीमण्डपको रक्तदान केन्द्र पुगेको थिएँ। त्यो बेला मैले बेहोरेको पीडा र सकसबाट अरूलाई राहत मिलोस् भनेर म स्वयंसेवक बनेको हुँ।”

यो क्रम लगभग दुई दशक पुग्न लाग्यो। “शरीरले साथ दिएसम्म निरन्तरता दिने प्रण गरेको छु,” उनी भन्छन्। रक्तदान, संकलन र वितरण प्रणाली अझै व्यवस्थित नभएकोमा दुःख लागेको बताउँछन्। त्यसको समाधानका लागि उनले एक सफ्टवेयर पनि बनाइसकेका छन्, तर “यसलाई कार्यान्वयन कसले र कसरी गर्छ भनेर प्रतिक्षामा छु,” उनी भन्छन्।

बिरामीहरूको लागि रगत वितरणलाई सरल तुल्याउन देशभरिका ब्लड बैंकहरूको विवरण राख्ने वेबसाइट बनाएर दैनिक अद्यावधिक गरिदिने हो भने बिरामीले सहजै रगत पाउने र म्याद गुज्रिएर रगत खेर जाने अवस्था हट्ने उनको सुझाव छ।

रगत दाताबाट निःशुल्क प्राप्त हुने भए पनि केही अस्पतालहरूले केन्द्रबाट निःशुल्क लगेको रगतमा स्टोर चार्ज जस्ता शुल्क लिने गरेको उनले बताउँछन्। साथै, अस्पतालहरूले आवश्यक नभएको रगत फिर्ता नगरी अनावश्यक रूपमा स्टोर गरेर राख्ने अर्को समस्या रहेको उनले औँल्याएका छन्।

“मानिसको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्तो संवेदनशील विषयमा राज्य, समाज र सरोकारवाला पक्ष गम्भीर नहुँदा बिरामी र तिनका आफन्तहरूले भोगेका कथाव्यथा अनगिन्ती छन्,” उनी भन्छन्। तथापि, पछिल्लो समय भएको केही सुधारले आफूलाई सन्तोष मिलेको पनि बताउँछन्।

उनी भन्छन्– “६ महिना अघि आमा बित्नुभयो। आमा सधैं भन्नुहुन्थ्यो– ‘जन्मेपछि केही गर्नुपर्छ, कसैलाई केही दिन सकुन्जेलसम्म मान्छे आफ्नो हो, त्यसपछि होइन।’ आमाको ती शब्द मेरो मनमा गढेर बसेका छन्। त्यसैले म ‘नहुनेले थोरै पाए पनि जसरी नि खुशी हुन्छन्, म त्यही खुशीमा आनन्द खोज्छु।’

“कपि–किताब किन्न नसक्ने तर पढ्ने तीव्र इच्छा भएका बालबालिकाको पीडा र खुशी मैले नजिकबाट देखेको छु। त्यसैले मानिसको मनमा लुकेको दुःखलाई पन्छाएर खुशी दिन सकूँ भन्ने सोचले निरन्तर प्रयास गरिरहेको छु। थाहा छैन, यो बाटोले मलाई कहाँसम्म पुर्‍याउँछ।”

विभिन्न संघ–संस्थामा संलग्न रहे पनि उनी आफूलाई अन्तर्राष्ट्रिय स्काउट भोलिन्टियर ग्रुप नेपालका सदस्यको रूपमा चिनाउन रुचाउँछन्। देश र समाजमा आदर्श फैलाउने र विश्व भ्रमण गर्ने इच्छा छ भन्छन्।

उनको एउटा गजबको जीवन सिद्धान्त छ– “कुनै पनि काम भोलिका लागि साँच्ने होइन, आजै गरौं, अहिल्यै गरौं।”