आलमलाई सफाइ दिने दुई न्यायाधीश तानिए न्याय परिषदमा

आलमलाई सफाइ दिने दुई न्यायाधीश तानिए न्याय परिषदमा



काठमाडौं । कांग्रेस नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगन्जका दुई न्यायाधीश न्याय परिषदमा तानिएका छन् । न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध उजुरी समेत परेको थियो ।

न्याय परिषदमा यसअघि नै बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले दुवै न्यायाधीशको सुरक्षालाई समेत ध्यानमा राखेर परिषदमा तान्नुपर्ने प्रस्ताव राखे पनि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र कानून मन्त्री अजय चौरसियाले मानेका थिएनन् ।

यसबीचमा थारुमाथि दुव्र्यवहार समेत भएको थियो । आलमलाई जिउँदै इटा भट्टामा जलाएर मान्छे मारेको अभियोगमा जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो ।

तर उच्च अदालतका न्यायाधीश थारु र महर्जनको इजलासले सफाइ दिएपछि यसको देशभर चर्चा भयो । उनीहरुविरुद्ध न्यायपरिषद्मा मृतक पिन्टु त्रिलोकका बुबाले समेत उजुरी दिएका थिए ।

परिषद्को विहीवारको बैठकले एक सदस्यीय छानवीन समिति बनाएर उनीहरुलाई कार्यक्षेत्रबाट तानिएको हाे ।