रवीन्द्र मिश्रले हिरासतमा लेखे ३५ कविता

रवीन्द्र मिश्रले हिरासतमा लेखे ३५ कविता



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले हिरासत बसाईमा ३५ वटा कविता लेखेको जानकारी दिएका छन् ।

मिश्रले बिहीबार आफू ८२ दिनपछि सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको भन्दै राज्यले प्रतिशोध साँध्ने भरमग्दुर प्रयास गर्दागर्दै पनि जिल्ला अदालत काठमाडौँले आफूलाई न्याय दिएको बताएका छन् ।

उनले ५० दिनको हिरासत बसाईमा ३५ वटा कविता लेखेको र ती सामाजिक सञ्जालमा प्रकाशित गर्दै जाने बताएका छन् ।

मिश्रले फेसबुकमा लेखेका छन्-

८२ दिनपछिको पोस्ट :

१. राज्य (राजनीतिक नेतृत्व) ले प्रतिशोध साँध्न भरमग्दुर प्रयास गर्दागर्दै पनि अस्ति जिल्ला अदालत, काठमाडौँले मलाई न्याय दिएको छ, यद्यपि लामो कानुनी प्रक्रिया बाँकी नै छ। केही समयअघि बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले त्यसैगरी न्याय दिएको थियो। म न्यायलयप्रति आभारी छु । निर्दोषहरूले न्याय पाउने नैसर्गिक अधिकारमा राजनीतिको छाया कहिल्यै नपरोस्। न्यायालय सदा स्वतन्त्र रहोस् – यही कामना गर्दछु ।

२. ५० दिनको हिरासत बसाइ र त्यसपछि एक महिनाको असहज स्थितिपछि म अहिले सामान्य अवस्थामा फर्किएको छु। यी कठिन दिनहरूमा मलाई निस्वार्थ ढङ्गबाट आत्मविश्वास दिने, साथ र समर्थन दिने देश–विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति मैले जति आभार प्रकट गरे पनि पुग्दैन। सशक्त अधिवक्ताहरूको दरो र निस्वार्थ साथ नभइदिएको भए आजको स्थिति सम्भव हुने थिएन। सबैलाई नमन गर्दछु !

३.अब म सबैसँग सामान्य अवस्थामा जस्तै सम्पर्कमा रहने नै छु। ५० दिनको हिरासत बसाइमा ३५ वटाभन्दा बढी कविता लेखेको रहेछु। तीमध्ये कुनै कुनै सामाजिक सञ्जालमा प्रेषित गर्ने नै छु ।

४. कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन् गरेर देशको दीर्घकालीन हित र समग्र रूपान्तरणप्रतिको मेरो अटल विश्वास र दृढतामा कुनै कमी आएको छैन।

५. भावी कानुनी सङ्घर्षमा पनि न्यायालयबाट न्याय पाउनेछु भन्नेमा विश्वस्त छु। सबैप्रति पुनः एक पटक आभार प्रकट गर्दछु ! आजलाई यत्ति नै।