दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश

दिलभूषण पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश



काठमाडौं । पत्रकार दिनभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत, पाटनले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले सो आदेश दिएको हो ।

यसअघि अल्पकालीन अन्तरिम आदेश जारी गरेको उच्च अदालतले दुवै पक्षको सुनुवाइ सुनि आदेशलाई निरन्तरता दिएको हो ।

‘निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसूर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नू/ नगराउनू भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम यस अदालतबाट मिति २०८२/०३/०२ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। आदेशको जानकारी विपक्षीहरूलाई दिनू,’ आदेशमा भनिएको छ ।

अब पाठकले हालेको मुद्दा नटुंगिदासम्म प्रहरीले उनलाई पक्राउ गर्न पाउने छैन ।

पत्रकार पाठकविरूद्ध जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

पाठकले हिल्टन होटल र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवालाई जोडेर भिडिओ रिपोर्ट सार्वजनिक गरेका थिए । ‘टफ टक’ नामक युट्युब च्यानलमार्फत झन्डै चार साता अघि पाठकले उक्त भिडिओ सार्वजनिक गरेका थिए ।

त्यसविरूद्ध उजुरी परेपछि ब्युरोको आग्रहमा जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो ।

आफूमाथि जारी भएको पक्राउ पुर्जीविरूद्ध पाठकले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए ।