भारत र इंग्ल्याण्डबीच पाँच टेस्ट श्रृंखला आजदेखि सुरु

भारत र इंग्ल्याण्डबीच पाँच टेस्ट श्रृंखला आजदेखि सुरु



काठमाडौं । भारत र इंग्ल्याण्डबीचको पहिलो टेस्ट आज लिड्सको हेडिङ्ली क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपाली समयअनुसार खेल दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ। यो टेस्ट भारतका लागि विशेष रहने छ, किनभने २५ वर्षीय युवा ब्याट्सम्यान शुबमन गिल पहिलो पटक टेस्ट कप्तानको भूमिकामा देखिँदैछन्। उनको कप्तानीमा भारतले नयाँ सुरुवात गर्ने तयारी गरेको छ। तर, मैदानको चुनौतीसँगै मौसमले पनि गिलको नेतृत्व क्षमतालाई ठुलो परीक्षा दिने देखिएको छ।

मौसमको अवस्था हेर्दा पहिलो दिन (जुन २०) र पाँचौं दिन मौसम सफा रहने अनुमान छ भने दोस्रो र तेस्रो दिन बिहान एक घण्टा वर्षा हुने सम्भावना छ। तेस्रो र चौथो दिन बेलुका हल्का वर्षा हुन सक्ने भएकोले खेलको लयमा असर पर्न सक्नेछ। यस्तो मौसमले पिच र आउटफिल्डमा असर पार्दै बलिङलाई केही फाइदा पुग्न सक्छ भने ब्याट्सम्यानहरूले चुनौती सामना गर्नुपर्नेछ।

यस श्रृंखलामा पहिलो टेस्ट हेडिङ्ली, लिड्समा हुनेछ भने दोस्रो टेस्ट जुलाई २ देखि ६ सम्म एड्गबास्टन, बर्मिङ्घ्याममा खेलिनेछ। तेस्रो टेस्ट जुलाई १० देखि १४ सम्म लन्डनको प्रतिष्ठित लॉर्ड्स क्रिकेट ग्राउन्डमा हुनेछ। चौथो टेस्ट जुलाई २३ देखि २७ सम्म म्यान्चेस्टरको ओल्ड ट्राफर्डमा आयोजना हुनेछ भने अन्तिम पाँचौं टेस्ट जुलाई ३१ देखि अगष्ट ४ सम्म लन्डनको द ओभलमा हुनेछ। सबै खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछन्।