काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सदनलाई हेपेको बताएका छन् ।
शुक्रबारको प्रतिनिधिसभाको बैठकमा विनियोजित शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू उपस्थित नभएसँगै उनले सरकारले सदनलाई हेपेको आरोप लगाएका हुन् ।
उनले कार्यसूची आउने फेरि हटाउने काम जारी रहेको भन्दै आपत्ति जनाए । सदनमा आन्दोलन भएको लामो समय भए पनि सरकार बेखबर रहेको उनको भनाइ थियो ।
‘सरकारले यो सदनलाई यति हेपेको छ । यसको बयान गरिसाध्य छैन । बारम्बार हामीलाई कार्यसूची आउँछ । फेरि कार्यसूची हटाइन्छ । कारण सोध्दा मन्त्रीको उपस्थिति छैन,’ उनले भने, ‘सदनमा आन्दोलन भएको यत्रो समय भयो । त्यसको जवाफदेही पनि छैन । सम्माननीय प्रधानमन्त्रीज्यू यहाँ उपस्थित हुनुभयो । आजको कार्यसूचीमा पनि मन्त्रीहरू सबै उपस्थित हुनुहुन्न । यो विषयवस्तु संसद्ले नै हेर्नुपर्ने विषयवस्तु हो ।’
पाण्डेले मन्त्रीको उपस्थिति नभएसम्म विनियोजन विधेयकमाथिको छलफल अघि बढाइनु अन्याय हुने बताए । ‘मन्त्रीहरूको उपस्थिति बेगर आज हुने छलफल अघि बढाइनु हुँदैन । यो हाम्रो नियमावलीको ठाडो उल्लंघन हो,’ उनले भने, ‘नियमावली हामीले पालन गर्नुपर्ने, सरकारले पालन गर्नु नपर्ने । कहाँसम्मको अन्याय हो यो ?’


प्रतिक्रिया