काठमाडौं । ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास उद्घाटन गरिएको छ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उद्घाटन गरे ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार उद्घाटनपछि ओभरपासलाई सवारी आवागमनका लागि खुला गरिने छ ।
१२ फागुन २०७८ मा ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ ।
चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ग्वार्को चोकमा ओभरपास निर्माण गरेको हो । चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलङ्कीसम्म जाम हुने तीन क्षेत्रमध्ये ग्वार्को चोकमा पहिलो ओभरपास निर्माण भएको हो ।
६ मिटर उचाइ र ४ सय ५५ मिटरको लम्बाइ हुने ओभरपासमा ग्राउन्ड क्लियरेन्स ६ मिटर तथा सवारी साधन चढ्नका लागि १ सय ८० मिटर दायाँतर्फ र १ सय १० मिटर बायाँतर्फ र्याम्प निर्माण भएको छ ।

प्रतिक्रिया