मुकुल ढकाल अझै रास्वपाको महामन्त्री !

मुकुल ढकाल अझै रास्वपाको महामन्त्री !



काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीका रूपमा डा मुकुल ढकालकै विवरण रहेको थप अद्यावधिक नभएको जानकारी दिएको छ ।

पार्टीको साधारण सदस्य समेतबाट हटाइएका डा. ढकालले आयोगसँग विवरण माग गरेका थिए ।

आयोगले २०८० चैत २० गते विवरण अद्यावधिक भएको र त्यसपछि अद्यावधिक नभएको जानकारी दिएको हो ।

‘प्रस्तुत विषयमा तपाईंले यस आयोगमा मिति २०८२ असार ४ मा दर्ता गर्नुभएको निवेदन माग बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यको हेरफेर भएको विवरण मिति २०८० चैत २० मा अद्यावधिक भएको र त्यसभन्दा पछि हालसम्म अद्यावधिक भएको अभिलेखबाट नदेखिएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ आयोगले डा. ढकाललाई उपलब्ध गराएको जानकारी पत्रमा भनिएको छ ।

निर्वाचन आयोगले महामन्त्री नै रहेको विवरण पठाएपछि डा. ढकालले पार्टी उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेसँग छलफलको समय माग गरेका छन् ।

शुक्रबार पत्र नै पठाएर छलफलका लागि समय माग गरेका हुन् ।

पार्टीको सभापति रवि लामिछाने पुर्पक्षका लागि थुनामा रहेकाले विषम् परिस्थितिमा पार्टीको नेतृत्वको जिम्मेवारी लगायतका विविध विषयहरू छलफल गर्न केन्द्रीय समिति बैठक बस्नुपर्ने ढकालले बताएका छन् ।