कांग्रेस सत्तामा भए कुलिङ पिरियड लागु गर्ने विधेयक ल्याउँथ्यो : शेखर कोइराला

कांग्रेस सत्तामा भए कुलिङ पिरियड लागु गर्ने विधेयक ल्याउँथ्यो : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले निजामती विधेयकमा कुलिङ पिरियड राख्न प्रधानमन्त्री केपी शर्मा ओली तयार नरहेको भन्दै आपत्ति जनाएका छन् ।

तनहुँमा आइतबार भएको कार्यक्रममा कोइरालाले कांग्रेस सरकारमा भएको तर सत्ता नहुँदा उक्त विधेयक अघि बढ्न नसकेको दाबी गरे ।

राज्य व्यवस्था समितिले पास गरेको संसदमा पठाएको विधेयकलाई प्रधानमन्त्रीको आदेशमा सभामुख देवराज घिमिरेले छलफलमा नल्याएको कोइरालाले बताए ।

‘कांग्रेस सत्तामा भएको भए ल्याउँथ्यो । अरु दलले एकमतले कुलिङ पिरियड लागु गर्नुपर्छ भन्छन् । प्रधानमन्त्रीको हठ किन ? कस्को लागि ?’ कोइरालाले प्रधानमन्त्री ओलीलाई प्रश्न गरे ।

कोइरालाले भने, ‘सचिव बनाउने, रिटायर्ड हुने वित्तिकै अख्तियारमा लग्ने, कसैलाई निर्वाचन आयोगमा लैजाने, कसैलाई महालेखामा लग्ने हो भने तिनिहरुले कस्को काम गर्लान् ? भनेर हामीले कुलिङ पिरियड राख्न खोजेको हो ।’

अवकाशपछि कुलिङ पिरियड अरु देशमा पनि भएको कोइरालाले बताए ।

कांग्रेस सरकारमा रहेपनि सत्ता कांग्रेसको पकडमा नभएको बताए । ‘सत्ता हामीसित छैन । हामी सरकारमा छौं । डेमोक्रेसीमा संरचनाहरुले काम गरिरहेको हुन्छ,’ कोइरालाले भने,‘त्यो संरचनामा कस्ता मान्छे छन् ।’