नेपालकी रेस्लर युनिकालाई पाकिस्तानमा उपाधि

नेपालकी रेस्लर युनिकालाई पाकिस्तानमा उपाधि



काठमाडौं । नेपालकी चर्चिच महिला रेस्लर भगवती खड्का ‘युनिका’ले पाकिस्तानको कराँचीमा भएको आरइडब्लु रेस्लिङको महिला सिंगल्स म्याचमा उपाधि जितेकी छन् ।

रेस्लिङमा ‘युनिका’ उपनामले चिनिने उनले पाकिस्तानकी बेगिसालाई हराएकी हुन् ।

२०६९ सालदेखि रेस्लिङ खेल्न थालेकी भगवतीले स्वदेश र विदेशमा गरी हालसम्म करिब ४० विदेशी खेलाडीसँग प्रतिस्पर्धा गरिसकेकी छन् । अधिकांश प्रतिस्पर्धामा भगवतीले प्रतिद्वन्द्वीलाई हराएकी छन् ।

भगवतीले भारत र जापानमा खेलिसकेकी छन् । समापनका अवसरमा कलाकार समेत रहेकी भगवतीले ‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’ बोलको गीत पनि गाएकी थिइन् ।

भगवतीको नाम वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनमा पनि समावेश छ ।

भगवती आफै अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेकोमा वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनमा नाम समावेश गरिएको हो ।

गत मे १६ मा भएको सगरमाथा दिवसको अवसरमा उक्त रेस्लिङ प्रतियोगिता भएको थियो । उक्त प्रतिस्पर्धामा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गरेकी थिइन् ।