होरा इस्पोर्ट्सले रच्यो इतिहास, विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने!

होरा इस्पोर्ट्सले रच्यो इतिहास, विश्वकपमा नेपालको प्रतिनिधित्व गर्ने!



काठमाडौँ । नेपाली पब्जी मोबाइल टिम होरा इस्पोर्ट्स आगामी महिना साउदी अरेबियामा आयोजना हुने पब्जी मोबाइल विश्वकप (पीएमडब्ल्युसी ) मा छनोट भएको छ। कजाकिस्तानमा हालै सम्पन्न ‘पीएमएसएल’ (मध्य तथा दक्षिण एसिया) प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै होराले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ।

इस्पोर्ट्स विश्वकप आगामी जुलाई ८ देखि अगस्ट २४ सम्म साउदी अरेबियाको रियादमा हुँदैछ। यस विश्वकप अन्तर्गत पब्जी मोबाइलको प्रतियोगिता जुलाई २५ देखि अगस्ट २३ सम्म सञ्चालन हुनेछ। यस विश्वकपमा नेपालको प्रतिनिधित्व होरा इस्पोर्ट्सले गर्नेछ।

कजाकिस्तानमा भएको “पीएमएसएल सिएसए” मा नेपालबाट होरा इस्पोर्ट्स सहित डिआरएस गेमिङ र ट्राइम एरोमेसी गरी तीन टोलीले सहभागिता जनाएका थिए। पहिलो चरणमा कुल २० टोलीले प्रतिस्पर्धा गरेकोमा नेपालका तीन टोली सहित १६ टोली अन्तिम चरणमा प्रवेश गरेका थिए। तर, नेपालबाट होरा इस्पोर्ट्स मात्र दोस्रो स्थान हासिल गर्दै पब्जी मोबाइल विश्वकपमा पुग्न सफल भयो। अन्तिम चरणबाट शीर्ष ३ टोली मात्र विश्वकपका लागि छनोट हुने प्रावधान थियो। यसमा मंगोलियाको अल्फा गेमिङ शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्यो।

अल्फा गेमिङले १७० अंक जोडेको थियो भने दोस्रो भएको होरा इस्पोर्ट्सले १३९ अंक प्राप्त गर्‍यो। यस्तै, पाकिस्तानको फोरथ्राइभ इस्पोर्ट्स १३७ अंक जोडेर तेस्रो स्थानमा रह्यो। अल्फा गेमिङ, होरा इस्पोर्ट्स र फोरथ्राइभ इस्पोर्ट्स गरी यी तीनै टोली पब्जी मोबाइल विश्वकपमा छनोट भएका छन्।

नेपाली टोली एएसटी दशौं (९७ अंक) र डिआरएस गेमिङ एघारौं (९४ अंक) स्थानमा रहे।

प्रतियोगिताका उत्कृष्ट खेलाडी अल्फा गेमिङका ‘एपीजी टप’ घोषित भएका छन् भने होरा इस्पोर्ट्स बाट “स्काइ होरा” दोस्रो स्थानमा रहेका छन् ।

यसअघि, डिआरएस गेमिङले सन् २०२२ मा इन्डोनेसियामा भएको पब्जी मोबाइलको ग्लोबल च्याम्पियनसिपमा दोस्रो स्थान हासिल गरेको थियो, जुन नेपाली पब्जी इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता मानिन्छ।

इस्पोर्ट्स विश्वकपको ब्रान्ड एम्बेसडरमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो नियुक्त भइसकेका छन्, जसले गर्दा इस्पोर्ट्स विश्वकपको चर्चा थप बढेको छ। यसपटक इस्पोर्ट्स विश्वकपमा पब्जी मोबाइल सहित विभिन्न २५ खेलका २६ इभेन्टमा प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको कुल पुरस्कार राशी ४७० मिलियन अमेरिकी डलरभन्दा बढी रहेको छ, जुन अघिल्लो वर्षको ४६२.५ मिलियन डलरभन्दा बढी हो।

होरा इस्पोर्ट्सका मालिक सन्जन गौतम (उर्फ ‘सिआर सेभेन होरा’ ले आफ्नो स्ट्रिममार्फत् पब्जी मोबाइल विश्वकपमा पुग्नुलाई ठूलो उपलब्धि भएको बताएका छन्। उनले भने, अन्तिम चरणमा दोस्रो भयौं, तर विश्वकप पुग्नु पनि ठूलो कुरा हो। सुरुमा शीर्ष तीनमा पर्ने लक्ष्य थियो, तर फाइनल राउन्डको दुई खेल हेर्दा च्याम्पियन बन्ने मौका पनि थियो। दोस्रो भयौं। यसबाट धेरै कुराहरू सिकियो, केटाहरूले राम्रो खेले।