काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटको ‘टेक एन्ड पे’को विषयमा अर्थ मन्त्रालयलाई संशोधनका लागि पत्र पठाएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री खड्काले ‘टेक एन्ड पे’बारे अर्थमन्त्री विष्णु पौडेलसँग छलफल भइरहेको र संशोधन हुने बताए ।
“दश मेगावाटसम्मका साना जलविद्युत् आयोजनाका साथै खपत वा निर्यात सुनिश्चितता भएका ठूला नदी प्रवाही आयोजनाको समेत प्रवाही ‘टेक अर पे’मै पीपीए गर्न मन्त्रालयले जेठ २७ मा पत्र पठाएर संशोधन गर्न आग्रह गरेको छ,” उनले भने, “यसबारेमा अर्थमन्त्रीसँग पनि छलफल भइरहेको छ । संशोधन भएर अगाडि बढ्ने कुरामा मन्त्रालयले विश्वास लिएको छ ।”
अर्थ मन्त्रालयले बजेटमा विभागीय मन्त्रालयलाई समेत जानकारी नदिएर ‘टेक एन्ड पे’को व्यवस्था राखेसँगै निजी क्षेत्र आन्दोलनमा छ ।
उनले जलविद्युत र प्रसारण लाइनको लागि निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न टेक अर पे सम्झौता लागू गरिने उल्लेख गरे । मन्त्री खड्काले ट्यारिफ बिडिङ प्रणाली प्रसारण लाइन विद्युत् व्यापार सहभागिताका लागि नीतिगत संरचनागत व्यवस्था तयार गरिएको पनि बताए ।
प्रसारण लाइनको निर्माण पीपीपी मोडलमा निजी क्षेत्रको सहभागिता गराइएको उल्लेख गरे । नेपाल विद्युत् प्राधिकरण सञ्चालन र व्यवस्थापन सुधारको लागि नेपाल विद्युत् प्राधिकरणको पुनः संरचना गरिने उनको भनाइ छ ।
ऊर्जा क्षेत्रको दिगो विकासका लागि समावेशी कानुन र स्पष्ट कार्यविधि, प्रविधिमा आधारित सेवाको सुधारमा अपरिहार्य मन्त्री खड्काले बताए ।
मन्त्री खड्काले जल तथा मौसम विज्ञान विभाग ६१ करोड ४५ लाख रुपैयाँ रहेको बताए । उनले समय नै भरपर्दो र विश्वासिलो मौसम जन्य सूचनाका लागि ५४० स्वचालित केन्द्रहरू रहेकोमा थप ३० वटा मानव सञ्चालित जल तथा मौसम मापन केन्द्र स्तर उन्नति गरी कुल ५७० वटा सञ्चालित केन्द्र बनाइने उल्लेख गरे ।
उनले भने,‘ हिम नदी र हिम ताललाई अनुगमनका लागि पूर्ण स्वचालित हिम केन्द्र ८ वटा बाटो बढाएर ११ वटा बनाउँदै थप अध्ययनका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।’
उनले मनसुन जन्य विपद्को विषयमा दिने जानकारीलाई थप प्रभावकारी बनाइने बताए ।


प्रतिक्रिया