काठमाडौं । प्रेस विज्ञप्ति जारी गर्दै ओमान क्रिकेटले २०२४ को टि२० विश्वकप खेल्ने आफ्नो पुरुष टोलीलाई लगभग एक वर्षपछि पुरस्कार रकम दिने घोषणा गरेको छ। अब उक्त २२५,००० अमेरिकी डलर (करिब ३ करोड नेपाली रुपैयाँ ) जुलाई २०२५ भित्र खेलाडी र स्टाफहरूलाई वितरण गरिने भनिएको छ।
विश्वकप २०२४ मा अमेरिका र क्यारिबियनमा सम्पन्न भएको थियो। टुर्नामेन्ट सकिएपछि आइसीसीले ओमान क्रिकेटलाई समयमै पुरस्कार रकम पठाए पनि खेलाडीहरूले लामो समयसम्म भुक्तानी पाएनन्। ओमान क्रिकेटले ढिलाइको कारण प्रक्रियागत प्रक्रिया भएको दाबी गर्दै आएको छ।
तर खेलाडीहरूले धेरैपटक सोधपुछ गर्दा पनि जवाफ नपाएपछि अक्टोबर २०२४ मा हुने इमर्जिङ एशिया कपको समयमा सामूहिक विरोध जनाएका थिए। त्यसपछि ओमान क्रिकेटले १५ खेलाडीको टोलीबाट ११ जनालाई निलम्बन गर्यो। उनीहरूको केन्द्रीय करार र रोजगारीसमेत गुमेपछि धेरै खेलाडी ओमान छाड्न बाध्य भए।
त्यसपछिका महिनाहरूमा खेलाडीहरूले विश्व क्रिकेटर संघ ((WCA) सँग सहयोग मागे। WCA ले खेलाडीहरूको पक्षमा उभिँदै ओमान क्रिकेटको ढिलासुस्तीको आलोचना गर्यो।
ओमान क्रिकेटले अब भुक्तानीका विषयमा स्पष्टता दिन आन्तरिक समिति गठन गरेको र भविष्यमा यस्ता समस्या दोहोरिन नदिने दाबी गरेको छ। बोर्डले खेलाडीहरूको अधिकार सुनिश्चित गरिने तर व्यावसायिक कर्तव्य पनि सम्झौतामा नपर्नु पर्ने बताएको छ।


प्रतिक्रिया