काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति बनाएको प्रतिनिधिसभामा जानकारी गराएको छ ।
गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको प्रस्तावमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले समिति बनाएको जानकारी सदनमा गराएका हुन् ।
यो समिति सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सँग जेठ ३० गते भएको दुई बुँदे सहमति अनुरूप समिति बनाइएको जानकारी दिए ।
समितिलाई अध्यागमन र भिजिट भिसासँग सम्बन्धित विषयमा अख्तियारको अनुसन्धानमा असर नपर्ने गरी छानबिन गर्न कार्यादेश दिइएको जानकारी गृहमन्त्री लेखकले दिए ।
सरकारले हिजो पूर्वमुख्यसचिव शंकरदाश वैरागीको संयोजकत्वमा छानबिन समिति बनाएको थियो । समितिको सदस्यमा गृह, संघीय मामिला र परराष्ट्र मन्त्रालयका सहसचिव रहनेछन् ।
उनले समितिले अध्यागमनमा देखिएका सबै समस्या समाधान हुनसक्नेगरी सुझाव प्रतिवेदन पेस गर्ने बताए । उनले समितिको ९ वटा कार्यादेश तयार गरेको बताए ।
यस समितिमा ६ वटा मन्त्रालयका प्रतिनिधिहरू राखिएका छन् ।
सहसचिवहरू अर्थमन्त्रालयका तीर्थराज सिलवाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयबाट अरूणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालय मणिरत्न शर्मा, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रदिप कोइराला र गृहमन्त्रालयबाट आनन्द काफ्ले सदस्य सचिव छन् ।
प्रतिक्रिया