पूर्वमुख्यसचिव बैरागी नेतृत्वको छानबिन समिति रास्‍वपाद्वारा अस्वीकार

पूर्वमुख्यसचिव बैरागी नेतृत्वको छानबिन समिति रास्‍वपाद्वारा अस्वीकार



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्‍वपा)ले भिजिट भिसा प्रकरणमा छानबिन गर्न बनेको उच्चस्तरीय अध्ययन एवं छानबिन समितिलाई अस्वीकार गरेको छ ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले पूर्वमुख्यसचिव शंकरदास बैरागी नेतृत्वमा छानबिन समिति गठन भएको र कार्यादेशबारे जानकारी गराएका थिए ।

त्यसपछि रास्वपाका उपसभापति एवं सांसद स्वर्णिम वाग्लेले बोल्दै उक्त छानबिन समितिलाई अस्वीकार गरेको बताएका हुन् । गृहमन्त्री लेखक आफैंले प्रस्ताव गरेका व्यक्तिबाट छानबिन हुन नसक्ने उनले बताए ।

यस्तै रास्वपाले जाँचबुझ आयोग ऐन अन्तर्गत बहालवाला वा पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ ।

‘आरोपीले नै आफै अनुसन्धान अधिकृत छान्दै जाने हो । हामी नयाँ हौं तर बेवकुफ होइनौं । जाँचबुझ आयोग ऐन अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति बन्नुपर्छ भनेका हौं । यसरी गोजीबाट मान्छे टिपेर ल्याउन नसकोस् भनेर,’ उनले भने ।

उनले शंकरदास वैरागी सत्ताको सधैँ प्रिय पात्र रहेको भन्दै आफै अनुसन्धानको राडारमा रहेका रहस्यमय पात्र रहेको बताए ।

उनले भने, ‘उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ । उहाँ स्वयम् सक्षम निकायहरूको रडारमा हुनुहुन्छ । त्यस्तो व्यक्तिले कसरी छानबिन गर्ने ? यहाँ गृहमन्त्री पनि सन्देहको घेरामा हुनुहुन्छ ।’

रास्वपाले संसदमा गृहमन्त्री लेखकको राजीनामा माग र उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै विरोध जनाउँदै आएको छ ।

छानबिन समितिलाई अस्वीकार गर्दै रास्वपाले संसद बैठक बहिष्कार गरेकाे छ ।