‘लिङदेनको कसममा दम छैन’

‘लिङदेनको कसममा दम छैन’


ग्लोब नेपाल
756
Shares

काठमाडौं । राप्रपा चरित्र विचित्रको बनेको छ, भिजिट भिसा प्रकरणमा साँच्चै विरोध गरेको हो कि राप्रपाले औपचारिकता मात्र निर्वाह गरेको हो, बुझ्न कठिन छ । भ्रष्टाचारविरुद्ध आमाको रगतको कसम खाने राप्रपाले अहिलेसम्म कुन भ्रष्टाचार काण्डको कडा विरोध गर्‍यो, जनताले जान्न चाहेका छन् ।

पोखरा विमानस्थल काण्ड, गिरीबन्धु काण्ड, ३३ किलो सुन काण्ड, ललिता निवास काण्ड, एनसेल काण्ड, शेरा दरबार काण्ड, सहकारी काण्ड जस्ता देशमा यस्ता दर्जनौं ठूलाठूला भ्रष्टचारका काण्ड बाहिर आएका छन् तर राप्रपाले सडक र सदन कतै मन खोलेर प्रभावकारी विरोध गरेको छैन । भ्रष्टाचार विरुद्ध कडा उत्रन नसकेको मात्र होइन, भ्रष्टाचार विरुद्ध स्पष्ट इच्छाशक्ति प्रदर्शन गर्न चाहेको देखिन्न ।

त्यसैले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भने जस्तो भ्रष्टाचार गर्नु भनेको आमाको रगत खाए बराबर हो भन्ने कसम राप्रपाले केवल सार्वजनिक खपत र सस्तो लोकप्रियताको लागि भनेको हो कि प्रश्नहरु जनतामाझ उब्जन थालेको छ ।

‘भ्रष्टहरुको विरुद्धमा राप्रपा सडकमा इमान्दार भएर आए हामी साथ दिन्छौं तर खोइ राजेन्द्र लिङदेनको आमाको रगत खाने कसम फिल्मी डायलगको रुपमा सीमित छ । राप्रपाले केही गर्ला जस्तो लागेन, यो पार्टी पनि इमान नभएको गफाडी र हावादारीको जमात हुन्छ भन्ने जस्तो देखियो,’ कालिमाटीस्थित हार्डवेयर व्यवसायी केशव श्रेष्ठ भन्छन् ।

‘राप्रपाका सांसद नै सहकारी काण्डमा मुछिएका छन्, फरार छन् तर लिङदेन यसबारे केही बोल्दैनन् । भनाइ र गराइमा अन्तर देखिएपछि लिङदेनको कसममा दम छैन किन नभन्ने,’ उनले भने ।

भ्रष्टाचारको विषय मात्र होइन, आन्दोलनका हकमा पनि राप्रपा द्विविधाग्रस्त छ, आन्दोलनलाई सही नेतृत्व दिन लिङदेन कमजोर देखिएका छन् । अवस्था र व्यवस्था बदल्न कम्मर कसेर लागेको भन्ने राप्रपाको आन्दोलन कहाँ पुग्यो भन्न कठिन छ ।

लिङ्देनले बर्षाका कारण आन्दोलन पर सरेको बताएका छन् त्यो भन्दा नयाँ कुरा बाहिर आएको छैन । हुन त महामन्त्री डा धवल शम्शेर राणाबाट पार्टीको आन्दोलन गर्ने जिम्मा आफूमा तानेर लिङ्देनले ‘अब म आन्दोलन गर्छु, मेरो नेतृत्वमा राप्रपाले आन्दोलन गर्छ’ भनेर संचारकर्मीमाझ बताएका थिए ।

लिङ्देनको घोषणा जे जस्तो भए पनि लिङ्देनकै नेतृत्वमा राप्रपा एक्लैले बल्खु र सिंहदरबारमा आन्दोलन गर्दा प्रभावकारी नतिजा नआएको सबैले जानेकै विषय हो । आन्दोलन संचालन गर्दा आइपर्ने दवाब छल्न सिंहदरबारभित्र सेटिङमा गिरफ्तारी दिएको भनेर लिङदेन स्वयम, ज्ञानेन्द्र शाही र बुद्धिमान तामाङहरुलाई जनताको आरोप त्यसबेला लागेकै हो ।

‘हामी राप्रपा होइनौं तर राष्ट्रवादी शक्तिलाई सहयोग गर्न हामी आफैं त्यो दिन बिजुली बजार पुग्यौं । कार्यक्रम सुरु हुन्छ भनेर पर्खिरहेका थियौं राप्रपाका नेताहरुले अघि नै संसदीय दलको कार्यालयमा मिडिया बोलाएर गिरफ्तारी दिने कार्यक्रम मिलाएछन् । यस्तो नाटक मंचन सुनेर हामी मात्र होइन, त्यसबेला हामीसँगै रहेका राप्रपाकै नेताहरु विक्रम पाण्डे र राजेन्द्र गुरुङ तीनछक परेका थिए,’ शिक्षण पेशाबाट अवकाश लिएका सरोज खतिवडा बताउँछन् ।