काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् प्रणाली र संविधानभित्रबाट क्रियाकलाप गर्ने ठाउँ भएको बताएका छन् । मंगलबार आगामी आर्थिक वर्षको बजेटअन्तर्गत प्रधानमन्त्री कार्यालय, राष्ट्रपति, उपराष्ट्रपति कार्यालय लगायतका सम्बन्धमा उठेको प्रश्नको जवाफ दिँदै संसद् कानुन नमान्ने थलो हुन नसक्ने बताए ।
उनले आफूलाई आलोचना गरे सहने भन्दै संविधान, प्रणालीमाथिको आलोचना सह्य नहुने धारणा राखे । “म आफूलाई कसैले आलोचना गरोस्, विरोध गरोस्, गाली गरोस् सहन्छु । तर, सहिदप्रतिको अपमान, सहिदले दिएको बलिदानप्रतिको अपमान, प्रणालीको अपमान, संविधानको अपमान सह्य हुन सक्दैन,” ओलीले भने ।
ओलीले व्यवहारले देखाएको ठाउँमा प्रणाली मजबुत बनाउने गरी संविधान संशोधन गर्ने प्रस्ताव राखे । “हामीले अपमानको प्रणाली व्यवहारिक रूपमा अझ प्रभावकारी बनाउने गरी संविधान संशोधन गरौँ । मनोवैज्ञाननिक ढंगले देशलाई विभाजित गर्ने गरी होइन,” उनले भने ।
संसद्मा छलफल गर्दा राष्ट्र र राष्ट्रियताका सवालमा गम्भीर बन्नुपर्ने बताए । हल्काफुल्का ढंगले टिप्पणी नगर्न आग्रह गरे ।
बजेटमा खर्च कटौतीको प्रस्तावको प्रवृतिमाथि प्रधानमन्त्री ओलीले प्रश्न उठाए । उनले यो परम्परागत अभ्यास रहेको बताए ।
‘एउटा ट्रेडिसनल कुरा जस्तो भयो के एक रुपैयाँ खर्च कटौती, बजेटबाट एक रुपैयाँ घटाइयोस् !’ प्रधानमन्त्री ओलीले भने, ‘खर्च एक रुपैयाँ घटाउदा हुने भए ! त्यसको एउटा सिम्बोलिक अर्थ छ । तथापि, एक रुपैयाँ घटाउँदा चित्त बुझ्छ भने घटाइदिए हुन्छ ।’
अन्यथा, खचै कटौतीको प्रस्तावको ठूलो अर्थ नरहेको उनले बताए । ‘सर्वसम्मत (बजेट पास) हुन्छ एक रुपैयाँ घटाउँदा ?’ प्रधानमन्त्री ओलीले प्रश्न गरे, ‘सर्वसम्मत हुन्छ भने एक रुपैयाँ घटाइदिए पनि हुन्छ है ।’
कतिपय थिति र विधि समय अनुसार परिवर्तन गर्न आवश्यक रहेको प्रधानमन्त्रीको आग्रह छ । ‘अब एउटा बिरालो बाधियो । जहाँ चलन हुन्छ त्यहाँ बाधियो । सिद्धियो’ उनले कटाक्ष गरे ।
सरकारले सकेसम्म सन्तुलित बजेट ल्याउने प्रयास गरेको उनले बताए । बजेटमा विवादका ठाउँ हुन सक्ने पनि उनले बताए ।
प्रतिक्रिया