काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका सभापति रवि लामिछानेमाथि अन्याय नहोस् भन्नका लागि आफूले अन्तिमसम्म प्रयास गरेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा भिजिट भिसाबारे रास्वपाले असहमति जनायो तपाईंहरूले सहमति जनाउनुभएको हो भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले आफूले रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति अन्तिमसम्म प्रयास गरेको बताए ।
‘अहिले पनि रास्वपालाई धरै भन्न चाहन्न । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो । अझै गर्दैछु । रास्वपाका साथीहरूले पछि बुझ्नुहुन्छ,’ उनले भने ।
मंगलबार सिंहदरबारमा उनी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटमा सदन र समाजवादी मोर्चाबारे छलफल भएको बताए ।
‘सदनको अहिले भइरहेको परिस्थितिको बारेमा समीक्षा गरिएको छ। समाजवादी मोर्चालाई कसरी लैजाने र दुई पार्टीको सम्बन्धको बारेमा पनि सामान्य छलफल हो । गम्भीर विषयमा होइन,’ उनले भने ।
प्रतिक्रिया