काठमाडौं र धरानसहित २४ वटा नगरपालिकाले ल्याउन सकेनन् बजेट

काठमाडौं र धरानसहित २४ वटा नगरपालिकाले ल्याउन सकेनन् बजेट



काठमाडौं । देशभरका २४ वटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्धारित समयमा ल्याउन नसकेको पाइएको छ ।

कुल २९३ वटा नगरपालिका (उपमहानगर र महानगर समेत) मध्ये निर्धारित समयमा बजेट २६९ वटा नगरपालिकाले मात्रै बजेट ल्याउन सकेका हुन् ।

स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रूपमा बजेट ल्याउनु पर्ने कानूनी व्यवस्था छ ।

असार १० गते मंगलबार साँझ साढे ६ बजेसम्म मधेसका ७७ वटा नगरपालिका मध्ये १६ वटा नगरपालिकाले बजेट ल्याउन नसकेकाे नेपाल नगरपालिका संघले जानकारी दिएकाे छ ।

यस्तै बागमतीका ४५ वटा नगरमध्ये ४ वटा, लुम्बिनीको ३६ नगर मध्ये २ वटा, कोशीमा ४९ नगर मध्ये १ र कर्णालीमा रहेका २५ मध्ये एक नगरपालिकाले बजेट ल्याउन नसकेका हुन् ।

सुदूरपश्चिममा रहेका ३४ वटै नगरपालिका र गण्डकीमा रहेका २७ वटै नगरले निर्धारित समयमा नै बजेट ल्याउन सफल भएका छन् ।

जनसंख्याका आधारमा देशकै ठूलो काठमाडौं महानगरपालिकाले कानूनी व्यवस्था अनुसार बजेट सार्वजनिक गर्न सकेकाे छैन् । त्यसैगरी धरान उपमहानगरपालिकाले पनि निर्धारित समयमा बजेट ल्याउन नसकेकाे हाे ।