काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको सचिवालय बैठक शुक्रबारका बोलाएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल विशेष अदालतमा उपस्थित भएको भोलिपल्ट बस्ने बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, भ्रष्टाचार मुद्दा र संगठनात्मक निर्णयहरूबारे गम्भीर छलफल हुने अपेक्षा गरिएको छ।
पार्टी प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार बैठकमा पछिल्लो राजनीतिक अवस्थासँगै, आगामी रणनीति, र केन्द्रीय कमिटीका निर्णयहरूको कार्यान्वयनबारे छलफल हुनेछ।
साथै, पतञ्जलि समूहसँग जोडिएको जग्गा प्रकरणमा अख्तियारले दायर गरेको भ्रष्टाचार मुद्दाबारे पनि बैठकमा विचारविमर्श हुने जनाइएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपाल आज विशेष अदालतमा बयान दिन पुगेका छन्।
भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै अध्यक्ष नेपाललाई कार्यवाहक सभापति वा संसदीय दलको नेता तोक्न दबाब परिरहेको चर्चा चलेको छ। मुद्दा दर्तापछिको यो पहिलो सचिवालय बैठक भएकाले, उक्त विषय बैठकको मुख्य एजेन्डा हुने संकेत देखिएको छ।


प्रतिक्रिया