काठमाडौं। कोशीटप्पु वन्यजन्तु आरक्षको विस्तारका कारण विस्थापित भएका परिवारका प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जग्गा सट्टापट्टाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ९५ वर्षीया कमलकुमारी पोखरेलसहित विस्थापित परिवारका प्रतिनिधिहरूले ज्ञापन बुझाउँदै, ४८ वर्षअघि आरक्ष विस्तार गर्दा सरकारसँग भएको भद्र सहमतिको स्मरण गराएका हुन्। सो सहमति अनुसार घरजग्गाको सट्टा उपलब्ध गराइने प्रतिबद्धता गरिएको थियो।
नेपाल सरकारले विस्थापित समस्या समाधानका लागि गठन गरेको अधिकार सम्पन्न उच्चस्तरीय आयोगले विस्थापितमध्ये सट्टापट्टाबाट छुट भएका ७५ परिवारलाई मोरङको लेटाङ नगरपालिका क्षेत्रमा जग्गा दिन सिफारिस गरिसकेको छ।
प्रतिनिधिमण्डलमा सहभागी आयोगका पूर्वसदस्य मनोहर नारायण श्रेष्ठका अनुसार, सिफारिस कार्यान्वयन नगरी समस्या जटिल बन्दै गएको छ। यस्तै, प्रतिनिधिले प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले २०४६ वैशाख ५ गते दिएको सट्टा जग्गा दिनु भन्ने आदेशसमेत स्मरण गराएका थिए।
ज्ञापनपत्र प्राप्त गरेपछि प्रधानमन्त्री ओलीले मुख्यसचिव एकनारायण अर्याललाई १५ दिनभित्र समस्या अध्ययन गरी जवाफ दिन निर्देशन दिएका छन्।
प्रतिक्रिया