सञ्चारमन्त्रीको रास्वपा र राप्रपालाई आग्रह: संसदीय गतिविधि प्रभावित नपार्नुहोस्

सञ्चारमन्त्रीको रास्वपा र राप्रपालाई आग्रह: संसदीय गतिविधि प्रभावित नपार्नुहोस्



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई संसदीय गतिविधिहरू अवरुद्ध नगर्न आग्रह गरेका छन्। मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गर्दा पूर्वाग्रह राखेर मन्त्रीको राजीनामा मागिएको आरोप लगाए।

मन्त्री गुरुङले कुनै व्यक्तिमाथि पूर्वाग्रह राखेर यति नभए हुँदै हुँदैनु भन्ने ढङ्गले संसद्मा प्रस्तुत हुन नमिल्ने र यसमा सम्बन्धित दलहरूमा परिपक्वता नदेखिएको टिप्पणी गरे। उनले यदि रास्वपा संसदीय व्यवस्थाप्रति नै विश्वास गर्दैन भने फरक कुरा हुने, नत्र समस्या समाधान गर्ने थलो संसद्लाई अवरुद्ध गर्न नमिल्ने तर्क प्रस्तुत गरे।

उनले थप स्पष्ट पार्दै, मन्त्रालयको कुनै कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्न थाल्दा मन्त्रीले राजीनामा दिँदै जाने कुरा नहुने बताए। यो संसदीय विधि र पद्धतिअनुसार नभएको उनको भनाइ थियो। सरकारले कुनै हठ नगरेको र संसद् बहिष्कार गरिरहेका प्रतिपक्षी दलहरूलाई यथार्थ स्वीकार गरेर अगाडि बढ्न मन्त्री गुरुङले आग्रह गरे।