असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने तयारी

असार १३ गते विद्यालय शिक्षा विधेयक पास गर्ने तयारी



काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयारी गरेको छ ।

जसका लागि भोलि समितिको बैठक बोलाइएको छ । ‘सकेसम्म भोलि नभए पर्सी समितिबाट विधेक पास गर्छौं,’ सभापति अम्मर बहादुर थापाले भने ।

बुधबार दिनभर पनि विधेयकको विवादित विषयमा सहमति जुटाउन परामर्श समन्वय उपसमितिको बैठक बसेको छ । उक्त समितिले विवादित विषयलाई साँघुरो बनाउँदै लगेको जनाएको छ ।

केही विषयमा टुंगो लाग्न बाँकी छ । बिहीबार बिहान ८ बजे समन्वय उपसमितिको बैठक बोलाइएको छ । शिक्षा समितिका अनुसार, उपसमितिले मिल्न बाँकी विषय मिलाएर दिउँसो १ बजे समितिको बैठकमा लैजाने तयारी छ ।

समितिबाट पास भएपछि यो विधेयक प्रतिनिधिसभामा जान्छ । प्रतिनिधिसभाले छलफल गरेर पास गर्छ ।

त्यसपछि राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभामा पनि प्रतिनिधिसभामा जस्तै संसदीय प्रकिया पूरा गरेर अगाडि बढ्छ ।

राष्ट्रिय सभाबाट पास भएपछि पुन: प्रतिनिधिसभामा आउँछ । राष्ट्रिय सभाले गरेको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक ऐनमा रुपान्तरित हुन्छ ।