आफू रास्वपाको महामन्त्री भएको दाबीसहित सर्वोच्चमा मुकुल ढकालको रिट

आफू रास्वपाको महामन्त्री भएको दाबीसहित सर्वोच्चमा मुकुल ढकालको रिट



काठमाडौं । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै डा. मुकुल ढकालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

ढकालले निर्वाचन आयोगमा आफू महामन्त्रीको रुपमा रहेको अभिलेखलाई यथावत राख्नुपर्ने अनि महामन्त्रीको रुपमा पार्टीमा काम गर्न पाउनुपर्ने माग गरेका हुन् ।

ढकालले दायर गरेको रिट बिहीबार (असार १२) सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ ।

बुधबार (असार ११) उनले रिट दायर गरेका थिए । रिट आज न्यायाधीश रेग्मीको इजलासको छैटौँ नम्बरमा परेको छ ।

संस्थापक महामन्त्री डा. ढकाललाई रास्वपाले गत वर्ष देशभर घुमेर बनाएको रिपोर्ट बुझाएपछि सार्वजनिक गरेर अनुशासन उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । कारबाहीविरुद्ध उनी निर्वाचन आयोगमा न्याय माग्न गएका थिए ।

उनलाई हटाएर नयाँ कार्यसमितिको कुनै जानकारी नरहेको भन्दै आयोगले पत्र दिएको थियो । त्यसपछि डा. ढकालले महामन्त्रीको हैसियतमा बैठक बोलाउन रास्वपामा निवेदन दिएका थिए ।

तर, रास्वपाले निर्वाचन आयोगलाई गत वर्ष नै जानकारी गराएको भन्दै डा. मुकुललाई महामन्त्री स्वीकार नगर्ने संकेत दिएको थियो । त्यसपछि उनी सर्वोच्च पुगेका हुन् ।